काठमाडौं ।उद्योगमन्त्री दीपककुमार साहले खाना पकाउने ग्यासको अभावबाट उपभोक्ताले भोगिरहेको समस्यालाई सरकारले गम्भीर रूपमा लिएको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ग्यास आपूर्तिलाई सहज बनाउन मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाअनुसार काम अघि बढाइरहेको जानकारी दिए।मन्त्री साहका अनुसार ग्यासको समस्या समाधान गर्न मन्त्रालयभित्र छुट्टै आन्तरिक समिति गठन गरिएको छ। दीर्घकालीन रूपमा समस्या दोहोरिन नदिन आवश्यक पूर्वाधार तथा नीतिगत व्यवस्था तयार गर्न राष्ट्रिय योजना आयोगसँग समेत समन्वय गरिएको उनले बताए।
ग्यास अभावको वास्तविक कारण पत्ता लगाउन मन्त्रालयले ‘फिसबोन डाइग्राम’ नामक प्राविधिक विश्लेषण विधि प्रयोग गरेको जनाएको छ। अध्ययनका क्रममा ग्यास अभाव कुनै एउटै कारणले नभई आपूर्ति व्यवस्था, कानुनी तथा वितरण प्रणाली, जनशक्ति, सामाजिक अवस्था र अन्तर्राष्ट्रिय परिस्थितिसहित विभिन्न पक्षसँग जोडिएको निष्कर्ष निकालिएको मन्त्री साहले बताए।मन्त्रालयको अध्ययनले ग्यास आयातमा रहेको निर्भरता, अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य, भण्डारण तथा रिफिलिङको सीमितता, डिलर तथा सेवा केन्द्रको असमान वितरण र खाली सिलिण्डर भर्न लाग्ने समयलाई आपूर्ति समस्या बढाउने प्रमुख कारणका रूपमा देखाएको छ। त्यस्तै, कालोबजारी, डिजिटल निगरानी प्रणालीको अभाव र सम्बन्धित निकायबीचको कमजोर समन्वयले पनि समस्या थपिएको मन्त्री साहको भनाइ छ।
आफूले समस्यालाई केवल कति सिलिण्डर ग्यास आयात भयो भन्ने आधारमा मात्र नहेरेको उनले स्पष्ट पारे। ग्यास लोड भएपछि उपभोक्ताको भान्सासम्म पुग्न लाग्ने समय, रिफिलिङ क्षमता, मूल्य निर्धारणको समय र सिलिण्डरको पहिचानलाई एउटै प्रणालीमा जोडेर अध्ययन भइरहेको उनले बताए।तत्काल आपूर्ति सहज बनाउन मन्त्रालयले विशेष कार्ययोजना अघि सारेको छ। यसै क्रममा ग्यास ढुवानीमा प्रभाव पार्ने कृष्णभीर सडकखण्डको अवरोध हटाई मर्मत गरेर सञ्चालनमा ल्याइएको मन्त्री साहले जानकारी दिए।बजारको मागअनुसार आपूर्ति बढाउन हाल दैनिक करिब १०० बुलेट ग्यास आइरहेको अवस्थामा त्यसलाई १६० बुलेटसम्म पुर्याउने प्रयास भइरहेको पनि उनले बताए। त्यसका लागि सरकारले कूटनीतिक तहबाट समेत पहल गरिरहेको मन्त्री साहको भनाइ छ।