काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा सार्वजनिक बस चालकले बसभित्रै आगो लगाएको घटनालाई लिएर जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राज्यको जवाफदेहितामाथि प्रश्न उठाएका छन्।
बा.५ ख ४२७४ नम्बरको सार्वजनिक बसका चालक दावा लामाले बसभित्रै आगो लगाएपछि उनी घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ। उनको शरीरमा करिब ९० प्रतिशत जलन भएको बताइएको छ। हमालले घटनालाई सामान्य आगलागीका रूपमा मात्रै नहेर्न आग्रह गरेका छन्। उनले त्रिपुरेश्वरमै यसअघि गणेश नेपालीसँग सम्बन्धित भएको घटनालाई स्मरण गर्दै एउटै स्थानमा पुनः नागरिकले आफ्नो ज्यान जोखिममा पार्ने अवस्था आउनु गम्भीर विषय भएको बताएका छन्।
उनका अनुसार घटना फरक भए पनि नागरिकले आफ्ना समस्या र गुनासो राख्ने क्रममा राज्य संयन्त्रबाट कस्तो व्यवहार पाउँछन् भन्ने विषयमा प्रश्न उठ्न थालेको छ। नागरिकले आफ्नो पीडा सुनाउनसमेत चरम कदम चाल्नुपर्ने अवस्था किन सिर्जना भइरहेको छ भन्ने विषयमा राज्यले जवाफ दिनुपर्ने हमालको भनाइ छ। हमालले गणेश नेपालीको घटनामा नगर प्रहरीसँग जोडिएको विषय र अहिलेको घटनामा ट्राफिक प्रहरीसँग सम्बन्धित पक्ष देखिएको उल्लेख गर्दै राज्य संयन्त्रको व्यवहारमाथि समेत प्रश्न उठाएका छन्।
उनले भनेका छन्, ‘घटना फरक भए पनि नागरिकमाथि राज्य संयन्त्रबाट हुने हेपाहा, तुच्छ र आत्मसम्मानमा चोट पुर्याउने व्यवहारको निरन्तरता देखिन्छ।’ घटनाको वास्तविक कारण पत्ता लगाउन निष्पक्ष छानबिन गर्नुपर्ने र चालक लामालाई यस्तो चरम कदम चाल्नुपर्ने अवस्था किन आयो भन्ने तथ्य सार्वजनिक गर्नुपर्ने हमालको माग छ। राजनीतिक शक्ति, पार्टीको आकार वा समर्थकको संख्या ठूलो हुँदैमा राज्यको जवाफदेहिताबाट उम्कन नसकिने टिप्पणी गर्दै हमालले यो घटनालाई राज्यको जवाफदेहितासँग जोडेर हेर्नुपर्ने बताएका छन्।