काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू बसभित्रै रहेको अवस्थामा गाडीमा आगजनी गरेका छन्।
बा ५ ख ४२७४ नम्बरको बसका २५ वर्षीय चालक दावा लामाले बसमा आगो लगाएको प्रहरीले जनाएको छ।घटना हुँदा बसमा कुनै यात्रु नरहेको प्रहरीको भनाइ छ। चालक लामाले बसभित्रै बसेर आगो लगाएपछि केही समयमै गाडीमा ठूलो आगो फैलिएको थियो।आगलागीको खबर पाएपछि दमकल घटनास्थलमा पुगेको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि बसभित्र रहेका चालक लामालाई उद्धार गरिएको प्रहरीले जनाएको छ।
आगोका कारण घाइते भएका लामालाई उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक भइसकेको छैन।चालकले आफ्नै बसमा आगजनी गर्नुको वास्तविक कारण भने खुल्न बाँकी छ। प्रारम्भिक रूपमा ट्राफिक प्रहरीसँग भएको विवादपछि उनी आक्रोशित भएको हुनसक्ने अनुमान गरिएको छ।काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार घटना नयाँ भएकाले यसको कारण र अन्य पक्षबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।