काठमाडौं । सरकारले रसुवागढी क्षेत्रमा बाढीका कारण सडक बगाएको स्थानमा सोही ठाउँमा पुनः सडक निर्माण नगर्ने जनाएको छ।
भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढीको जोखिम रहेका क्षेत्रमा पुरानै स्थानमा सडक बनाउने नीति सरकारको नरहेको स्पष्ट पारेका हुन्।संसद्को पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले नदी कटान वा पहिरोका कारण सडक भत्किएको ठाउँमा आवश्यकताअनुसार संरचना सुधार गर्न सकिने बताए।तर बाढीका कारण भू–भाग नै परिवर्तन भएको तथा जोखिम बढेको स्थानमा फेरि त्यही ठाउँमा सडक निर्माण गर्नु उपयुक्त नहुने उनको भनाइ थियो।
उनले ‘लो कटिङ’का कारण पहिरो खसेको स्थानलाई पुनः व्यवस्थित गर्नुपर्ने भए पनि बाढीले जोखिम बढाएको क्षेत्रमा पुरानै ढाँचामा सडक बनाउने पक्षमा सरकार नरहेको बताए।मन्त्री लम्सालले सडक पुनर्निर्माण गर्दा भविष्यमा पनि बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राखेर सुरक्षित स्थान र संरचनालाई प्राथमिकता दिने संकेत गरेका छन्।