काठमाडौं । जनकपुरस्थित प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक सरोज साहमाथि हातपात र कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया र जनकपुरधाम उपमहानगरपालिका–८ की २६ वर्षीया सुधिरा मुखिया बिन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।प्रहरीका अनुसार दुवै जनालाई धनुषा जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।धनुषा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३ ग अन्तर्गतको कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको जानकारी दिए। घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान गरी खोजी भइरहेको प्रहरीले जनाएको छ।
उक्त कानुनअनुसार स्वास्थ्यकर्मीमाथि हातपात वा कुटपिटजस्ता कसुर पुष्टि भएमा तीन वर्षसम्म कैद, तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रहरीको भनाइ छ।गत बिहीबार प्रादेशिक अस्पताल जनकपुरको बर्थिङ सेन्टरमा प्रसूतिका लागि पुगेकी महिलाका आफन्तले शल्यक्रियाका क्रममा चिकित्सकीय लापरबाही भएको आरोप लगाउँदै ड्युटीमा रहेका डा. साहमाथि हातपात गरेका थिए।
घटनापछि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका थिए। उपचारमा लापरबाही भएको आशंका भए सम्बन्धित निकायमा उजुरी तथा छानबिनको प्रक्रिया अघि बढाउनुपर्ने, तर स्वास्थ्यकर्मीमाथि नै हातपात गर्नु स्वीकार्य नहुने उनीहरूको भनाइ थियो।प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्यकर्मीमाथि यस किसिमका घटना पटक–पटक हुने गरेको चिकित्सकहरूले बताएका छन्।