काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज नेप्से मा प्राविधिक समस्या देखिएपछि सोमबारको नियमित सेयर कारोबार स्थगित गरिएको छ।
नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि नै प्राविधिक समस्या उत्पन्न भएको थियो। समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको भए पनि कारोबार सुरु गर्ने अवस्था नबनेपछि बजार बन्द गर्ने निर्णय गरिएको हो।
डाटा सेन्टरमा देखिएको समस्या कायम रहेकै अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको मुख्य कारोबार प्रणालीमा समेत असर पर्न सक्ने जोखिम रहेको नेप्सेले जनाएको छ। यही कारण लगानीकर्ताको कारोबार प्रभावित नहोस् र प्रणालीमा थप क्षति नपुगोस् भनेर सोमबारको सत्र रोकिएको हो।
प्राविधिक समस्या समाधान नभएसम्म बजार सञ्चालन गर्दा हुनसक्ने जोखिमलाई ध्यानमा राखेर स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत कारोबार स्थगित गर्न नेप्सेसमक्ष आग्रह गरेको थियो।नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ को उपनियम ९१० लाई आधार बनाएर सोमबारको कारोबार स्थगन गरिएको स्पष्ट पारेको छ।