काठमाडौँ । साताको कारोबारको क्रममा शेयर बजारमा सामान्य गिरावट आएको छ। शुक्रबार नेप्से परिसूचक ५.४५ अंकले घट्दै २ हजार ६९० दशमलव १५ विन्दुमा झरेको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.५४ अंकले घटेर ४८७ दशमलव ६६ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट सूचक ०.३६ अंकले घटेर १८६ दशमलव ६४ र सेन्सेटिभ फ्लोट सूचक ०.१७ अंकले घटेर १६५ दशमलव १६ विन्दुमा कायम भएको छ। आज बजारमा २ करोड २८ लाख ६२ हजार ५५४ कित्ता शेयर किनबेच हुँदा कुल ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा रहेका १३ उपसमूहमध्ये पाँचवटाको सूचक बढेको छ भने आठवटामा गिरावट देखिएको छ। आज १०२ कम्पनीको शेयर मूल्य बढ्दा १६९ कम्पनीको घटेको छ। आठ कम्पनीको मूल्य भने स्थिर रहेको छ। यस दिन बेनी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था र लुम्बिनी विकास बैंकका लगानीकर्ताले राम्रो आम्दानी गरेका छन्। अर्कोतर्फ मेन्छियम हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर र सोपान फार्मास्यूटिकल्सका शेयरधनीले घाटा व्यहोरेका छन्।