काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले एकैदिन ठूलो छलाङ मारेको छ। बिहीबार सुनको भाउ प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र रूपमा उकालो लागेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको हो। सुनसँगै चाँदीको मूल्यमा समेत उल्लेख्य वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला २ सय ६५ रुपैयाँले बढेर ३ हजार ९ सय २० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।