काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.९५ अङ्कले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको हो।
बजारमा गिरावट आए पनि कारोबार रकम भने ४ अर्ब ७२ करोड रुपैयाँभन्दा माथि पुगेको छ। दिनभर ३४९ कम्पनी तथा धितोपत्रको ४४ हजार ४१२ पटक कारोबार हुँदा १ करोड २३ लाख ७३ हजार ८४१ कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार ६२३ रुपैयाँ रहेको छ। आज कारोबारमा आएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य घटेको छ। कुल २११ कम्पनीको मूल्य घट्दा ५६ कम्पनीको बढेको छ भने १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएन।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी पहिलो स्थानमा रहेको छ। उक्त कम्पनीको १८ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ७५ लाख र घलेम्दी हाइड्रोको १४ करोड ३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। समग्र बजार घटे पनि कुमारी सबल योजनाको मूल्य सबैभन्दा धेरै २.९६ प्रतिशतले बढेको छ। यता, कुमारी बैंकको डिबेञ्चरमा सबैभन्दा बढी गिरावट आएको छ। समूहगत परिसूचकतर्फ माइक्रोफाइनान्सबाहेक अन्य सबै समूह ओरालो लागेका छन्। यद्यपि, सबै समूहको घटबढ एक प्रतिशतभन्दा कम रहेको छ।