काठमाडौं ।पोखराको चर्चित लिचीबारी जग्गा प्रकरणसँग जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ।
पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित सात जनालाई प्रतिवादी बनाइएको उक्त मुद्दामा अदालतले सुनुवाइ अघि बढाएको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताले कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुखको सरुवा रोक्ने तथा भूमि आयोगमा नियुक्ति दिलाउने आश्वासन दिएर घरजग्गा व्यवसायीसँग रकम लिएको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो। आयोगका अनुसार गुप्ताविरुद्ध ५३ लाख रुपैयाँ घुस लिएको अभियोग छ।
यस्तै, गुप्ता र श्रेष्ठले मिलेमतो गरी पदको प्रभाव प्रयोग गरेर विभिन्न काम गरिदिने भन्दै थप २५ लाख रुपैयाँ लिएको आरोप अख्तियारले लगाएको छ। आयोगले घुस लेनदेनसँग सम्बन्धित प्रमाणका रूपमा अडियो सामग्री, बैंकिङ कारोबार र डिजिटल फरेन्सिक परीक्षणबाट प्राप्त विवरणलाई आधार बनाएको जनाएको छ।यस प्रकरणमा दुई पूर्वमन्त्रीसँगै कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी तथा घरजग्गा व्यवसायी र बिचौलियासहित सात जनालाई प्रतिवादी बनाइएको छ।
अख्तियारले पोखरा महानगरपालिका–१६ स्थित दीपविर्ता अर्थात् लिचीबारी क्षेत्रका जग्गासँग सम्बन्धित विषयमा कुल ७८ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा अघि बढाएको हो। मुद्दामा जग्गासम्बन्धी काममा प्रभाव पार्न घुस लेनदेन भएको आरोपको अनुसन्धान गरिएको थियो।यसै प्रकरणमा अदालतले यसअघि प्रतिवादीहरूसँग सम्बन्धित प्रमाण तथा साक्षी बुझ्ने प्रक्रिया अघि बढाउने आदेशसमेत दिएको थियो।