काठमाडौं ।बंगालको खाडीमा नयाँ मौसमी प्रणाली विकसित भएपछि नेपालमा वर्षाको सम्भावना बढेको छ।
यद्यपि उक्त प्रणालीले नेपालमा कति प्रभाव पार्छ र जोखिमको अवस्था कस्तो रहन्छ भन्ने विषयमा अहिले नै स्पष्ट निष्कर्ष निकाल्न नसकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।अण्डमान सागर आसपासबाट विकसित भएको न्यून चापीय प्रणाली अहिले बंगालको खाडीको पूर्व–मध्य क्षेत्रमा केन्द्रित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रणाली उत्तर–पश्चिमतर्फ अघि बढिरहेकाले मौसमविद्हरूले यसको निरन्तर निगरानी गरिरहेका छन्।
महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आगामी दिनमा प्रणाली थप संगठित हुँदै बलियो बन्ने र पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना छ। यसको प्रभावस्वरूप नेपालमा वर्षा हुनसक्ने देखिए पनि वर्षाको मात्रा, प्रभावको क्षेत्र र सम्भावित क्षतिको अवस्था अहिले नै यकिन गर्न नसकिने उनले बताइन्।यसैबीच, मनसुनको न्यून चापीय रेखा हाल आफ्नो औसत अवस्थाभन्दा केही दक्षिणतर्फ रहेको विभागले जनाएको छ। नयाँ मौसमी प्रणालीको प्रभावसँगै आगामी २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले महाशाखाले ‘पहेंलो चेतावनी’ जारी गरेको छ। जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।पछिल्लो २४ घण्टामा तनहुँको खानीखोला क्षेत्रमा ४१.८ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, मकवानपुरको सिलिङ्गेमा ३८.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको महाशाखाले जनाएको छ।