काठमाडौँ। चाडपर्व नजिकिँदै गर्दा भोजपुर बजारमा मासु तथा माछा पसलको छड्के अनुगमन गरिएको छ।
उपभोक्तालाई स्वच्छ र गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले स्थानीय प्रशासनसहित विभिन्न सरोकारवाला निकायको संयुक्त टोलीले बजारका १० वटा पसलमा अनुगमन गरेको हो। अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका तथा स्वास्थ्यका लागि उपयुक्त नभएका खाद्यवस्तु बिक्रीका लागि राखिएको भेटिएको थियो। भोजपुर बजारस्थित ‘दाजुभाइ माछा पसल’बाट कुहिएको तथा दुर्गन्धित अवस्थामा रहेको १७ किलो ४४५ ग्राम माछा बरामद गरी टोलीले तत्काल नष्ट गरेको जनाएको छ।
भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालले चाडपर्वको समयमा माछा तथा मासुको खपत बढ्ने भएकाले अस्वस्थकर वस्तुको बिक्री हुन नदिन अनुगमनलाई तीव्रता दिइएको बताए। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी खाद्यवस्तु बिक्री गर्न कसैलाई छुट नरहेको उनको भनाइ छ। अनुगमनका क्रममा अस्वस्थकर वस्तु तत्काल नष्ट गर्नुका साथै व्यवसायीहरूलाई पसलको सरसफाइ, खाद्यवस्तुको गुणस्तरलगायत विषयमा आवश्यक सुझाव र निर्देशन दिइएको उनले बताए।
अनुगमन टोलीमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका डाक्टर देवकुमार दर्लामीसहित प्राविधिक तथा विज्ञहरू सहभागी थिए। डाक्टर दर्लामीका अनुसार अघिल्ला अनुगमनबाट दिइएका सुझाव कार्यान्वयन गरेका केही व्यवसायीले सरसफाइ र गुणस्तरमा सुधार गरेका छन्। तर केही पसलमा व्यवसाय दर्ता नवीकरण, पसलको सरसफाइ तथा मूल्यसूची राख्ने विषयमा अझै कमजोरी देखिएको टोलीले जनाएको छ। यस्ता कमीकमजोरी तत्काल सुधार गर्न व्यवसायीलाई निर्देशन दिइएको छ।
चाडपर्वको समयमा अस्वस्थकर खाद्यवस्तु बिक्री, कालोबजारी तथा तोकिएकोभन्दा बढी मूल्य असुल्ने गतिविधि हुन नदिन आगामी दिनमा बजार अनुगमनलाई थप प्रभावकारी र निरन्तर बनाइने टोलीले जनाएको छ। उपभोक्तालाई पनि माछा तथा मासु खरिद गर्दा ताजापन र गुणस्तरमा ध्यान दिन तथा शङ्कास्पद वस्तु भेटिएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ। भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरको आयोजनामा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, भोजपुर नगरपालिका पशु सेवा शाखालगायतका निकायका प्रतिनिधिको सहभागिता थियो।