काठमाडौँ। सुनसरीमा हावाहुरीका कारण रूख ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीकी ३८ वर्षीया सीता यादव रहेकी छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार आइतबार दिउँसो भएको घटनामा यादवको मृत्यु भएको हो। प्रहरीका अनुसार यादव बर्जु ताल क्षेत्रमा गाईवस्तुका लागि घाँस काट्न गएकी थिइन्। सोही क्रममा अचानक आएको हावाहुरीले नजिकै रहेको सिमलको रूख ढल्दा उनी त्यसमा च्यापिएकी थिइन्। रूखले च्यापिएर घाइते भएकी यादवलाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको सूचना अधिकारी खड्काले जानकारी दिए।