काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।
आइतबार बसेको रास्वपा सचिवालय बैठकमा सभापति लामिछानेले यी तीनवटै पक्षबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले आपसी समन्वय र सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिएको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता खरेलले सभापति लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्धलाई प्रभावकारी बनाउँदै अघि बढ्न निर्देशन दिएको बताए ।
बैठकमा लामिछानेले पार्टीका नेता, सांसद तथा समर्थकले पालना गर्नुपर्ने अनुशासनका विषयमा समेत निर्देशनात्मक धारणा राखेको खरेलले जानकारी दिए । रास्वपाले पार्टी संगठन, संसदीय गतिविधि र सरकारसँगको समन्वयलाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल गरेको जनाएको छ ।