काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै १ लाख ३० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार साउन र भदौमा गरी १ लाख ३० हजार ४८३ जनाले अन्तिम श्रम स्वीकृति लिएका हुन्। साउनमा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएकोमा भदौमा भने यो संख्या घटेर ६० हजार ४२ मा झरेको छ। भदौमा श्रम स्वीकृति लिनेमा ५१ हजार ८४३ पुरुष र ८ हजार १९९ महिला रहेका छन्। भदौमा श्रम स्वीकृति लिने ६० हजार ४२ जनामध्ये ३५ हजार ६२७ जना पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेका हुन्। त्यस्तै, बिदामा नेपाल फर्किएर पुनः रोजगारीका लागि विदेश जान २४ हजार ४१५ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
यूएई नेपाली श्रमिकको मुख्य गन्तव्य
भदौ महिनामा पनि संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली श्रमिकको प्रमुख गन्तव्य बनेको छ। विभागका अनुसार यूएई जान १५ हजार ५४२ पुरुष र २ हजार ९३५ महिलासहित १८ हजार ४७७ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि कतारका लागि १० हजार ४७१, मलेसियाका लागि ८ हजार ९१, साउदी अरेबियाका लागि ६ हजार ७८७ र कुवेतका लागि ३ हजार ८९८ जनाले श्रम स्वीकृति पाएका छन्। युरोपतर्फ रोमानियाका लागि १ हजार ७९३ र जापानका लागि १ हजार १३० जनाले श्रम स्वीकृति लिएका छन्। ओमान जाने १ हजार ९५ जना छन्। दक्षिण कोरियाका लागि सरकारी प्रक्रियामार्फत जाने ७८९ जनासहित कुल ९०३ जनाले श्रम स्वीकृति लिएका छन्।
मधेस र कोशीबाट विदेशिनेको संख्या बढी
जिल्लागत तथ्यांक हेर्दा मधेस र कोशी प्रदेशका जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या तुलनात्मक रूपमा धेरै देखिएको छ। देशभरमा सबैभन्दा धेरै धनुषाबाट ३ हजार १६ जनाले श्रम स्वीकृति लिएका छन्। झापाबाट २ हजार ७१६, मोरङबाट २ हजार ६९०, सिरहाबाट २ हजार ३४९, महोत्तरीबाट २ हजार २८१, सुनसरीबाट २ हजार २२६ र रुपन्देहीबाट २ हजार १० जनाले श्रम स्वीकृति लिएका छन्। हिमाली जिल्लाबाट भने वैदेशिक रोजगारीका लागि जानेको संख्या निकै कम देखिएको छ। दुई महिनाको समीक्षा अवधिमा मनाङबाट १३, मुस्ताङबाट २३ र हुम्लाबाट ३७ जनाले मात्र श्रम स्वीकृति लिएका छन्।
आधाभन्दा बढी दक्ष श्रमिक
वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये दक्ष श्रमिकको हिस्सा आधाभन्दा बढी रहेको विभागको तथ्यांकले देखाएको छ। भदौमा श्रम स्वीकृति लिनेमध्ये ५६.९ प्रतिशत अर्थात् ३४ हजार १६७ जना दक्ष श्रमिक रहेका छन्। त्यसैगरी १६ हजार ५८ जना अदक्ष, ९ हजार ४६६ जना अर्धदक्ष, २७१ जना व्यावसायिक र ८० जना उच्च दक्ष जनशक्ति रहेका छन्। नयाँ श्रम स्वीकृति लिनेहरूमध्ये २५ हजार ४१५ जनाले म्यानपावर कम्पनीमार्फत प्रक्रिया अघि बढाएका छन् भने ९ हजार २२४ जनाले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएका छन्। यसरी चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामै ठूलो संख्यामा नेपाली श्रमका लागि विदेशिएको देखिन्छ। यद्यपि, साउनको तुलनामा भदौमा विदेश जाने नेपालीको संख्या भने केही घटेको छ।