काठमाडौं ।सिरहाको लहानस्थित एक निजी विद्यालयमा अध्ययनरत ११ वर्षीय विद्यार्थीमाथि गम्भीर रूपमा कुटपिट गरिएको घटना सार्वजनिक भएको छ।
सप्तरीको बलानबिहुल गाउँपालिका–४ का ती बालक लहान–४ स्थित इन्द्रेणी स्कुलको छात्रावासमा बसेर अध्ययन गर्दै आएका थिए। बालकका बुवाका अनुसार छात्रावासबाट बाहिरिएको भन्दै विद्यालयका शिक्षकले उनलाई कुटपिट गरेका हुन्।विद्यालयले पनि विद्यार्थी छात्रावासबाट पटक–पटक बाहिरिने गरेको र पछिल्लो घटनापछि उनलाई कुटपिट गरिएको स्वीकार गरेको छ। विद्यालयका संस्थापक देवेन्द्र साहका अनुसार बालक पछिल्लो पटक छात्रावासबाट बाहिरिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि अभिभावकसँग सम्पर्क गरी उनलाई विद्यालयमा ल्याइएको र अनुशासनका नाममा एक–दुई लट्ठी प्रहार गरिएको उनले बताएका छन्।
तर बालकका परिवारले भने घटनाको अवस्था विद्यालयले बताएभन्दा गम्भीर रहेको दाबी गरेका छन्। अभिभावकका अनुसार बालकलाई कुटपिट गर्नुका साथै बाँधेर राखिएको थियो।बालकले समेत आफूलाई बाँधेर घोप्टो पारेर फलामे छड र प्लास्टिकको पाइपले कुटिएको बताएका छन्। कुटपिटपछि परिवारले उनलाई घरमा लगेर उपचार गराइरहेको जनाइएको छ।
यस घटनापछि सिरहाका निजी विद्यालयमा विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा हुने शारीरिक दण्डको विषय फेरि चर्चामा आएको छ। अधिकारकर्मीहरूले केही विद्यालयमा यस्ता घटना दोहोरिने गरेको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन र बालबालिकाको सुरक्षामा गम्भीर ध्यान दिनुपर्ने बताएका छन्।उनीहरूका अनुसार यस्ता घटनामध्ये कतिपय विषय आर्थिक लेनदेन वा आपसी सहमतिमा टुंग्याउने प्रयास हुने भएकाले बालबालिकामाथि हुने हिंसाका घटना बाहिर आउन नसक्ने अवस्था समेत रहेको छ।