काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले जात, धर्म, भूगोल वा राजनीतिक स्वार्थका आधारमा मधेशलाई विभाजित गरेर द्वन्द्वतर्फ धकेल्न नहुने बताएका छन्।
आइतबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले अबको राजनीतिको प्राथमिकता समाजमा विभाजन होइन, एकता र आर्थिक समृद्धि हुनुपर्ने बताए। मधेश र कोशी प्रदेशलाई द्वन्द्वको मैदान बनाउने प्रयास भइरहेको दाबी गर्दै उनले त्यस्तो परिस्थितिबाट मुलुकलाई जोगाउनुपर्ने धारणा राखे। उनका अनुसार देशले अहिले एकता, विकास र समृद्धिको बाटो रोज्न आवश्यक छ। उनले राजनीति समाजलाई जोड्ने माध्यम हुनुपर्ने भन्दै जात, धर्म, वर्ग र भूगोलका आधारमा हुने विभाजनले मुलुकलाई अघि बढाउन नसक्ने बताए।
छठपछि मेची–महाकाली पैदल यात्रा
सिंहले छठ पर्वको पारणका दिन जनकपुरस्थित गंगासागरमा अर्घ्य दिएपछि जानकी मन्दिरको दर्शन गर्ने र त्यसपछि झापाको भद्रपुरबाट मेची–महाकाली पैदल यात्रा सुरु गर्ने जानकारी दिए। उनका अनुसार यात्रा कुनै गाडी वा रथमा नभई पैदल हुनेछ। यात्राको उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट गर्नु र उनीहरूका समस्या नजिकबाट बुझ्नु रहेको उनले बताए। यात्राका क्रममा आफूले भाषणभन्दा जनताको कुरा सुन्नेमा बढी ध्यान दिने सिंहको भनाइ छ। गाउँ, टोल र बस्तीमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने तथा करिब २०० देखि ४०० जनाको समूहमा छलफल गर्ने योजना रहेको उनले बताए।
युवा, किसान र व्यवसायीका समस्या उठाउने
पदयात्राका क्रममा युवाको विदेश पलायन, वैदेशिक रोजगारी, किसान र मजदुरका समस्या, व्यापारीले भोगिरहेका कठिनाइ तथा मधेशको अर्थतन्त्र अपेक्षित रूपमा चलायमान हुन नसक्नुका कारणबारे जनतासँग छलफल गर्ने सिंहले बताए। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकका समस्या पनि यात्राको महत्वपूर्ण विषय हुने उनले बताए। सीमापार व्यापार, पारिवारिक तथा सामाजिक सम्बन्ध र सीमामा सुरक्षाकर्मीबाट स्थानीयले भोगिरहेका समस्याबारे प्रत्यक्ष जानकारी लिने उनको भनाइ छ।
मधेश विकासका लागि ‘६ स’को प्राथमिकता
सिंहले मधेशको विकासका लागि शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति–सुरक्षा र सरसफाइलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनका अनुसार शिक्षा र स्वास्थ्यको अवस्था सुधार नगरी मधेशको समग्र विकास सम्भव छैन। विद्यालयको गुणस्तर सुधारसँगै सरकारी रेफरल अस्पताल, मेडिकल कलेज र विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार आवश्यक रहेको उनले बताए। मधेशका नागरिक जटिल रोगको उपचारका लागि काठमाडौंलगायत ठूला सहरमा जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिए।
सरकारी मेडिकल र प्राविधिक कलेज विस्तारको माग
मधेशमा ठूलो जनसंख्या भए पनि सरकारी मेडिकल, इन्जिनियरिङ तथा कृषि कलेज पर्याप्त नभएको सिंहले बताए। मुटु, मिर्गौला र क्यान्सरजस्ता जटिल रोगको उपचारका लागि सरकारी स्तरमै सुपर स्पेसियलिटी सेवा विस्तार गर्नुपर्ने उनको भनाइ छ।
धार्मिक तथा जातीय तनावप्रति चिन्ता
मधेशमा धार्मिक तथा साम्प्रदायिक तनाव, जातीय विभाजन र आपराधिक गतिविधिका विषयमा पनि सिंहले चिन्ता व्यक्त गरे। उनले अदालत, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा रहेका मुद्दा तथा भीडसम्बन्धी तथ्यांकको अध्ययन गर्नुपर्ने बताए। लागुऔषधको समस्या पनि मधेशका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै उनले यसको समाधानका लागि राजनीतिक पहलसँगै सामाजिक चेतना आवश्यक रहेको बताए।
हुलाकी राजमार्ग र सिँचाइमा जोड
सिंहले मधेशको विकासका लागि सडक र सिँचाइ पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए। हुलाकी राजमार्ग अझै पूर्ण रूपमा निर्माण हुन नसकेको तथा कमला र