काठमाडौं ।बंगालको खाडीको पूर्वी क्षेत्रमा पर्ने उत्तर अण्डमान सागर आसपास विकसित भइरहेको न्यून चापीय क्षेत्र क्रमशः सक्रिय बन्दै गएको छ।
मौसमविद्का अनुसार उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेकाले त्यसको प्रभाव नेपालमा समेत पर्न सक्ने सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणाली आगामी असोज ७ गते आसपास भारतको दक्षिण ओडिशा तथा उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिक पुग्न सक्ने अनुमान गरिएको छ। त्यसपछि नेपालमा समेत यसको प्रभाव देखिन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार अहिले नै उक्त प्रणाली पूर्ण रूपमा विकसित भइसकेको अवस्था छैन। त्यसैले ठूलो विपद् नै निम्तिने गरी वर्षा हुने निष्कर्षमा पुग्न हतार गर्न नहुने उनको भनाइ छ। यद्यपि, जल तथा मौसम विज्ञान विभागले प्रणालीको निरन्तर निगरानी गरिरहेको छ।मनसुनको समय भएकाले बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ प्रवेश गर्दा विभिन्न क्षेत्रमा वर्षाको मात्रा बढ्न सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। तर कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने कुरा अहिले नै यकिन गर्न नसकिने र आगामी दिनमा पूर्वानुमान थप स्पष्ट हुँदै जाने बताइएको छ।
हाल अण्डमान सागर तथा बंगालको खाडी आसपास विकसित प्रणाली क्रमशः बलियो हुँदै भारतको पश्चिम बंगाल र ओडिशा आसपासतर्फ सर्ने क्रममा रहेको छ। मौसमविद्का अनुसार सेप्टेम्बर २३ देखि २८ अर्थात् असोज ७ देखि १२ गतेसम्म नेपालमा यसको प्रभाव बढी देखिन सक्ने सम्भावना छ।असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा वर्षाको सम्भावना रहे पनि कुन क्षेत्रमा बढी प्रभाव पर्छ भन्ने कुरा अहिले नै ठोकुवा गर्न नसकिने मौसमविद्को भनाइ छ। प्रणालीको गति र दिशामा परिवर्तन आउन सक्ने भएकाले दैनिक रूपमा नयाँ पूर्वानुमान सार्वजनिक गरिनेछ।
यसैबीच, पछिल्लो समय बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुनः ठूलो वर्षा भए अवस्था थप जटिल बन्न सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा समेत वर्षाले अवरोध पुर्याउन सक्ने भएकाले पूर्वतयारी आवश्यक रहेको मौसमविद्ले बताएका छन्।यस्तै, धेरै ठाउँमा धान काट्ने तथा भित्र्याउने समयसमेत सुरु भएकाले किसानलाई पनि मौसमको अवस्था हेरेर अन्नबाली सुरक्षित गर्न सुझाव दिइएको छ। सम्भावित वर्षाबाट फसलमा क्षति हुनुअघि नै आवश्यक तयारी गर्न मौसमविद्ले आग्रह गरेका छन्।