काठमाडौं ।गोरखामा आइतबार बिहान भएको जिप दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग १ ज ६३८९ नम्बरको जिप सिरानचोक गाउँपालिका–२, थालाजुङमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार जिप सडकको नालीमा खसेर भित्तामा ठोक्किएको थियो। दुर्घटनामा काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको हो।
दुर्घटनामा सिरानचोक–७ का ६८ वर्षीय कमलबहादुर घिमिरे, ४८ वर्षीया सीता पाण्डे, लोकबहादुर खड्का, ७३ वर्षीय कुलबहादुर सार्की, सिरानचोक–६ सिम्लेका ६८ वर्षीया सीता गुरुङ तथा वडा नम्बर ७ डाँडागाउँकी २७ वर्षीया रेजिना नेपाली र उनकी २१ महिनाकी छोरी रेविका नेपाली घाइते भएका छन्।घाइतेहरूको उपचार भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।