काठमाडौं ।ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक बस सेवा निःशुल्क बनाउने प्रस्ताव अघि सारेका छन् ।
ललितपुरमा आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तारसम्बन्धी कार्यक्रममा बोल्दै महर्जनले रातको समयमा सार्वजनिक यातायातमा निर्भर हुने श्रमिक तथा न्यून आय भएका नागरिकलाई लक्षित गरेर यस्तो व्यवस्था गर्नुपर्ने बताएका हुन् ।उनका अनुसार रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च काठमाडौं उपत्यकाका १८ वटै स्थानीय तहले संयुक्त रूपमा व्यवस्थापन गर्न सक्छन् । काठमाडौं र ललितपुर महानगरपालिकाले अन्य स्थानीय तहको तुलनामा बढी आर्थिक योगदान गर्न तयार हुनुपर्ने उनको भनाइ छ ।
महर्जनले हाल रात्रिकालीन बस सेवाको सञ्चालनलाई ‘ब्रेक–इभेन’ अवस्थामै कायम राख्दै सेवा निःशुल्क बनाउने निश्चित मिति तोक्नुपर्ने धारणा राखेका छन् । उनले आगामी वैशाख १ गते वा उपयुक्त अन्य मितिबाट निःशुल्क सेवा सुरु गर्ने घोषणा गर्न सकिने प्रस्ताव गरेका छन् ।मेट्रो रेल सञ्चालन हुन अझै लामो समय लाग्न सक्ने उल्लेख गर्दै उनले त्यस अवधिसम्म रात्रिकालीन सार्वजनिक यातायातलाई प्रभावकारी विकल्पका रूपमा विकास गर्नुपर्ने बताए ।
उनले मेट्रो निर्माणको काम अहिले सुरु भए पनि सञ्चालनमा आउन करिब दुई दशक लाग्न सक्ने भएकाले त्यतिन्जेल रातको सार्वजनिक यातायातलाई व्यवस्थित र विस्तार गर्न आवश्यक रहेको बताए ।महर्जनका अनुसार रात्रिकालीन बस सेवा निःशुल्क तथा व्यवस्थित बनाउन सके यसले उपत्यकाको सार्वजनिक यातायातमा महत्वपूर्ण सुधार ल्याउन सक्नेछ ।