काठमाडौं ।दक्षिण फिलिपिन्सको बाङसामोरो अटोनोमस रिजन इन मुस्लिम मिन्डानाओ क्षेत्रमा शनिबार सरकारी सुरक्षाकर्मी र सशस्त्र समूहबीच गोली हानाहान भएको छ ।
घटनामा छ जना सशस्त्र व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।अधिकारीहरूका अनुसार हत्या तथा सवारीसाधन चोरीसम्बन्धी आरोप लागेका एक व्यक्तिलाई पक्राउ गर्न फिलिपिनी सेना र प्रहरीको टोली सम्बन्धित क्षेत्रमा पुगेको थियो । सुरक्षाकर्मी त्यहाँ पुगेपछि संदिग्ध व्यक्ति र उनका सहयोगीहरूले गोली चलाएपछि दोहोरो भिडन्त भएको बताइएको छ ।
झडपपछि घटनास्थलबाट पाँच थान राइफल बरामद गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा मारिएका व्यक्तिहरू सशस्त्र समूहसँग सम्बन्धित रहेको सरकारी पक्षको भनाइ छ ।झडपपछि आसपासको क्षेत्रमा सुरक्षा जोखिम बढेको भन्दै करिब ३५० स्थानीय बासिन्दालाई केही समयका लागि सुरक्षित स्थानमा सारिएको छ । विस्थापित स्थानीयलाई अस्थायी रूपमा सुरक्षित क्षेत्रमा राखिएको अधिकारीहरूले जनाएका छन् ।घटनाबारे फिलिपिनी सुरक्षा निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ