काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपरमार्केटको टंगालस्थित स्टोर पुनः सञ्चालनमा आउने भएको छ ।
कम्पनीका अनुसार सोमबार बिहान १० बजेदेखि टंगाल स्टोरबाट ग्राहकलाई नियमित सेवा दिन सुरु गरिनेछ ।आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोरमा ठूलो क्षति पुगेको थियो । तीमध्ये १० वटा स्टोर पुनर्निर्माण गरी सञ्चालनमा ल्याइसकिएको कम्पनीले जनाएको छ । दमक र हेटौँडाका स्टोर भने अझै पुनर्निर्माणकै क्रममा छन् । यी दुवै स्टोरको काम अन्तिम चरणमा पुगेकाले चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले टंगाल स्टोरलाई पुनः सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिएका छन् ।भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले कठिन परिस्थितिमा पनि कम्पनीलाई साथ दिने ग्राहक, कर्मचारी तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन् । उनका अनुसार ठूलो क्षति भए पनि कम्पनीले पुनः उभिने लक्ष्यसहित पुनर्निर्माणको कामलाई निरन्तरता दिएको हो ।आगजनीबाट ठूलो आर्थिक क्षति भए पनि कम्पनीले आफ्ना १० हजारभन्दा बढी कर्मचारीको रोजगारीलाई निरन्तरता दिएको जनाएको छ । कर्मचारीको रोजगारी कटौती नगर्नुका साथै दसैँ बोनससमेत नघटाई कम्पनीले कर्मचारीप्रतिको जिम्मेवारी पूरा गरेको अध्यक्ष गुरुङको भनाइ छ ।भाटभटेनीले पुनः सञ्चालनमा आउने स्टोरहरूबाट ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । टंगाल स्टोर खुलेपछि नियमित सेवा सञ्चालन हुने र सेवाको गुणस्तरमा कुनै सम्झौता नगरिने कम्पनीले स्पष्ट पारेको छ ।