काठमाडौँ । हुम्लाको कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ठुला ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको छ।
शनिबार खसेको पहिरोले करिब १०० मिटर सडक क्षेत्रमा असर पुर्याएपछि करिडोरमा सवारी आवागमन ठप्प भएको हो। सडक अवरुद्ध हुँदा करिडोर हुँदै यात्रा गरिरहेका यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन्। ठुला ढुङ्गा खसेका कारण तत्काल सडक खुलाउन कठिनाइ भएको जनाइएको छ। आइतबार सिमकोटमा सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट हिँडेका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेका छन्।
अदानचुली गाउँपालिका–२ का कमल बुढाका अनुसार स्वास्थ्य शिविरमा उपचारका लागि जाने नागरिकहरू सर्केगाडको खडीखेतमा सडक खुल्ने प्रतीक्षामा छन्। उनले श्रीमतीको कानको उपचारका लागि सिमकोटतर्फ जाँदै गर्दा पहिरोका कारण बीच बाटोमै रोकिएको बताए। प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिएका छन्। उनका अनुसार सडकमा ठुला ढुङ्गा थुप्रिएकाले सामान्य उपकरणबाट मात्रै अवरोध हटाउन सम्भव छैन।
सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंह, स्थानीय तहका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार बिहानैदेखि सडक खुलाउने तयारी गरिएको छ। करिब १०० मिटर क्षेत्रमा थुप्रिएका ढुङ्गा फुटाउनुपर्ने अवस्था रहेकाले सडक सञ्चालनमा ल्याउन समय लाग्न सक्ने अधिकारीहरूले बताएका छन्। सडक खुलाउने काम निरन्तर अघि बढाएर सम्भवतः पर्सि दिउँसोसम्म करिडोर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। वर्षायाममा बाढी, पहिरो तथा ढुङ्गा खस्ने समस्याका कारण कर्णाली करिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ। सडक अवरोधले हुम्लाका नागरिकको आवतजावतसँगै स्वास्थ्य सेवा, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ।