जापान । एसियाली खेलकुदको सबैभन्दा ठूलो महाकुम्भ मानिने २०औँ एसियन गेम्सको जापानमा भव्य उद्घाटन भएको छ।
आइची–नागोयास्थित मिजोहु स्टेडियममा शनिबार आयोजित समारोहमा जापानका सम्राट नारुहितोले २०२६ एसियन गेम्स औपचारिक रूपमा सुरु भएको घोषणा गरे।
जापानको राष्ट्रिय गान र झण्डा फहराउँदै सुरु भएको समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएका थिए। समारोहको अन्त्य एसियाडको टर्च प्रज्वलनसँगै गरिएको थियो। जापानी संगीतकार तारो हाकासीले पनि प्रस्तुति दिएका थिए।
उद्घाटन समारोहमा सम्राट नारुहितोसहित महारानी मासाको, राजकुमार अकिसिनो, आयोजक समिति अध्यक्ष ओहमुरा हिदेइकी तथा ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)का अध्यक्ष शेख बिन जोअन बिन हमाद अल थानीलगायत सहभागी थिए।
यसपटक एसियाका ४५ राष्ट्रसँगै शरणार्थी टोलीका गरी ११ हजारभन्दा बढी खेलाडी एसियाडमा सहभागी छन्। उद्घाटन समारोहमा सबै सहभागी टोलीले मार्चपास गरेका थिए। खेलाडी तथा निर्णायकको प्रतिनिधित्व गर्दै एक–एक जनाले शपथसमेत लिए।
केही खेल भने उद्घाटनअघि नै सुरु भइसकेका थिए। बास्केटबल, फुटबल, क्रिकेट, भलिबल, आधुनिक पेन्टाथलन, टेकबल, हक्की र सफ्ट टेनिसलगायतका प्रतिस्पर्धा यसअघि नै सुरु भएका हुन्।
मार्चपासका क्रममा नेपालको झण्डा बक्सर चन्द्रबहादुर थापा मगर र महिला कबड्डी टोलीकी कप्तान मानमती विष्टले बोके।
विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका चन्द्रबहादुर नेपालका चर्चित बक्सर हुन्। मानमती भने चीनको हान्झाउमा भएको १९औँ एसियन गेम्समा कांस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी सदस्य हुन्।
यसपटक नेपालबाट २१ खेलमा १३५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। सुरुमा २२ खेलमा सहभागिता जनाउने तयारी भए पनि अन्तिम समयमा ब्रेकिङ डान्सका खेलाडी सहभागी नहुने भएपछि खेल संख्या घटेको हो।
नेपालको टोलीमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकसहित २११ जनाको सहभागिता रहने बताइएको थियो। तर शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव तथा ‘सेफ दि मिसन’ रामचरित्र मेहता जापान पुगेनन्।
मन्त्री पोखरेल सरकारी काममा व्यस्त रहेको र सदस्य सचिव मेहता १०औँ राष्ट्रिय खेलकुदको तयारीमा केन्द्रित हुनुपर्ने भएकाले जापान नआएको बताइएको छ।
मेहता नआएपछि राखेप उपाध्यक्ष विशाल श्रेष्ठलाई नयाँ ‘सेफ दि मिसन’को जिम्मेवारी दिइएको छ। उनी शुक्रबार टोकियो पुगेका थिए।
यसैबीच, जापानले तेस्रोपटक एसियन गेम्स आयोजना गरेको हो। यसअघि सन् १९५८ मा टोकियो र सन् १९९४ मा हिरोशिमामा एसियाड आयोजना भएको थियो। एसियन गेम्सको सुरुवात भने सन् १९५१ मा भारतको नयाँ दिल्लीबाट भएको थियो।
यसपटकको एसियाडको अर्को विशेषता खेलाडी बस्ने व्यवस्थासमेत हो। छुट्टै एथ्लेट भिलेज निर्माण नगरी खेलाडी तथा अफिसियललाई क्रुज सिप, कन्टेनर र होटलमा राखिएको छ। इटालीबाट ल्याइएको क्रुज सिपमा मात्रै ४ हजार ५०० भन्दा बढी खेलाडी बस्ने व्यवस्था गरिएको छ।
तर खेलाडी व्यवस्थापन प्रभावकारी नभएको भन्दै चीन, भारतलगायत केही सहभागी राष्ट्रले गुनासो गरेका छन्।
एरिकासहित नेपाली खेलाडीको प्रतिस्पर्धा आइतबार
नेपालका लागि पदकको मुख्य आशा गरिएकी कराते खेलाडी एरिका गुरुङले आइतबार प्रतिस्पर्धा गर्दैछिन्। उनले महिला ६८ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्।
करातेकै मीनबहादुर तामाङ, राकेश मानन्धर र सानुमाया थिङले पनि आइतबार प्रतिस्पर्धा गर्नेछन्।
महिला भलिबल टोलीले क्लासिफिकेसन खेलमा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। पौडी, उसु र टेबलटेनिसका नेपाली खेलाडीले पनि आइतबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने कार्यक्रम छ।