काठमाडौं ।चालु आर्थिक वर्षको सुरुवाती महिनामै नेपाल भित्रिने रेमिट्यान्समा उल्लेख्य वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बराबरको विप्रेषण नेपाल भित्रिएको छ।राष्ट्र बैंकका अनुसार यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह २९.९ प्रतिशतले बढेको थियो।अमेरिकी डलरमा हेर्दा पनि रेमिट्यान्स आप्रवाह बढेको छ। समीक्षा अवधिमा १ अर्ब ४० करोड अमेरिकी डलर नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ। यो अघिल्लो वर्षको तुलनामा १०.२ प्रतिशतको वृद्धि हो।
यस अवधिमा नेपालको खुद द्वितीय आय २ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।रेमिट्यान्ससँगै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि उल्लेख्य रहेको छ। समीक्षा महिनामा नयाँ श्रम स्वीकृति लिने ४२ हजार ६ सय ९३ जना रहेका छन्।यस्तै, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २७ हजार ७ सय ४८ रहेको छ। नयाँ र पुनः श्रम स्वीकृति लिने गरी उक्त अवधिमा कुल ७० हजार ४ सय ४१ जना नेपालीले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन्।