काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क जे–ख्योङले आज शिष्टाचार भेट गरेका छन्।
मन्त्रीको कार्यकक्षमा भएको भेटमा नेपाल–कोरिया सम्बन्धलाई थप मजबुत बनाउने विषयसँगै भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल भएको छ।भेटका क्रममा सूचना प्रविधि, डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकता एआई लगायतका क्षेत्रमा नेपाल र कोरियाबीच सहकार्य बढाउने सम्भावनाबारे पनि कुराकानी भएको थियो।
मन्त्री तिमिल्सिनाले विपद्को कठिन अवस्थामा नेपाललाई कोरियाले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले बाढी प्रभावितको उद्धार तथा खोजीका लागि कोरियाली विपद् व्यवस्थापन टोली परिचालन भएकोमा समेत प्रशंसा गर्दै पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्ने कोरियाली प्रतिबद्धताका लागि आभार व्यक्त गरे।नेपाल र कोरियाबीच आपसी सम्मान, समझदारी र सहकार्यमा आधारित सम्बन्धलाई आगामी दिनमा अझ फराकिलो बनाउनुपर्नेमा मन्त्री तिमिल्सिनाले जोड दिए।
राजदूत पार्कले भने बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि कोरियाको सहयोग निरन्तर रहने बताएका छन्। उनले बाढीमा परेका कोरियाली नागरिकको अवस्थाबारे समेत चासो व्यक्त गरे।राजदूतका अनुसार कोरियाली सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका १० जना कोरियाली नागरिकको उद्धार गरिसकेको छ। तर माथिल्लो त्रिशूली–१ आयोजना क्षेत्रमा रहेका नौ जना कोरियाली नागरिक अझै सम्पर्कविहीन रहेको जानकारी उनले दिए।
भेटमा आगामी असोज १४ गतेदेखि दक्षिण कोरियामा आयोजना हुने ‘१२औँ ग्लोबल आईसीटी लिडरसिप फोरम’मा नेपालको सहभागिताबारे पनि जानकारी गराइएको थियो। कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा हुने फोरममा नेपालसहित विभिन्न देशका प्रतिनिधिबीच सूचना प्रविधि र कृत्रिम बौद्धिकताको क्षेत्रमा सहकार्य तथा भावी रणनीतिबारे छलफल हुने जनाइएको छ।