काठमाडौं । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा सर्वोच्च अदालतमा भइरहेको आगलागी तथा बारा र नवलपरासीमा भएका हत्या घटनाको निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरिएको छ।
बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा पछिल्लो समय देखिएका आगलागीका घटनाप्रति प्रश्न उठाउँदै यसको न्यायिक छानबिन आवश्यक रहेको बताए।त्यस्तै, सदस्य पूजा चौधरीले बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनामा संलग्न केही व्यक्तिलाई सामान्य तारेखमा छाडिएको विषय उठाउँदै घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरिन्।
सदस्य रुक्मिणी कोइरालाले नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–३ मा तीजका दिन शेरबहादुर विकले आफ्नी श्रीमती उनीमाया विकको हत्या गरेको उल्लेख गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन छानबिन गर्नुपर्ने बताइन्। श्रीकृष्णप्रसाद अधिकारीले भोटेकोशी बाढीबाट प्रभावित रसुवाका आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकामा तत्काल खाद्यान्न, लत्ताकपडा तथा औषधिको सहज व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। उनले बाढीका कारण प्रभावित सडक सञ्जाललाई यथाशीघ्र पुनः सञ्चालनमा ल्याउनसमेत माग गरे।