काठमाडौं ।संविधानका आधारभूत संरचना कमजोर पार्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले देशलाई फेरि द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी पूर्वमन्त्री वर्षमान पुनले दिएका छन्।
काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दोस्रो दशक अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै पुनले संविधान संशोधन आवश्यकताअनुसार गर्न सकिने भए पनि त्यसका मूल आधारमा असर पर्ने गरी अघि बढ्न नहुने धारणा राखे।उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायलाई संविधानका महत्वपूर्ण आधारका रूपमा उल्लेख गरे। यी संरचनामाथि प्रहार गर्ने प्रयासले राजनीतिक शक्ति सन्तुलनमा असर पार्न सक्ने उनको भनाइ थियो।
पुनले संविधान निर्माणका क्रममा भएका संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्दै समयअनुसार आवश्यक सुधार गर्दै लैजानुपर्ने बताए। बदलिँदो राजनीतिक शक्ति र नयाँ सम्भावनालाई पनि संवैधानिक संरचनाभित्र समेटेर अघि बढ्न सके राजनीतिक स्थायित्व कायम गर्न सहयोग पुग्ने उनको भनाइ छ।उनले संविधानलाई जस्ताको तस्तै राख्नुपर्ने मात्र नभई आवश्यकता र समयअनुसार परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए। तर संशोधनको नाममा संविधानका आधारभूत संरचनामै परिवर्तन गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले मुलुकलाई थप राजनीतिक द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी उनले दिएका छन्।