काठमाडौं । नेपाल चिकित्सक संघले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरमा कार्यरत आजीवन सदस्य डा. सरोज साहमाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर आपत्ति जनाएको छ।
संघले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्यस्थलमै ड्युटी गरिरहेका चिकित्सकमाथि भएको आक्रमणलाई अमानवीय र निन्दनीय घटना भन्दै दोषीको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न माग गरेको हो।संघका अनुसार बिहीबार ड्युटीमा रहेका डा. साहमाथि बिरामीका आफन्तसहितको समूहले आक्रमण गरेको थियो। स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गरिरहेका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमाथि देशका विभिन्न ठाउँमा पटक–पटक यस्ता घटनाहरू दोहोरिन थालेको भन्दै संघले चिन्ता व्यक्त गरेको छ।
यस्ता घटनाले स्वास्थ्यकर्मीको पेशागत सुरक्षामात्र नभई उनीहरूको आत्मसम्मानमा समेत गम्भीर असर पार्ने संघको भनाइ छ। स्वास्थ्य संस्थालाई नै असुरक्षित बनाउने गतिविधि तत्काल रोक्नुपर्नेमा पनि संघले जोड दिएको छ। घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न माग गर्दै संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ पहिलो संशोधन, २०७९ अनुसार दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा। विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न राज्यका सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने उल्लेख गरिएको छ।
