काठमाडौं । पोखरा विश्वविद्यालयले विभिन्न चार संकायमा रिक्त रहेको डिन पदपूर्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन माग गरेको छ।
विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायका लागि योग्य तथा इच्छुक उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको हो।डिन छनोट प्रक्रियामा सहभागी हुने उम्मेदवारले व्यक्तिगत विवरणसँगै सम्बन्धित संकायको विकास तथा रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना पनि पेश गर्नुपर्नेछ।
विश्वविद्यालयका अनुसार उम्मेदवारले तयार गर्ने कार्ययोजनामा संकायको वर्तमान अवस्था र आवश्यकता विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा गतिविधि, कार्यान्वयनको योजना र समयसीमा, आवश्यक स्रोत तथा बजेट र अनुगमन तथा मूल्यांकनका विषय समेटिनुपर्नेछ।खुला प्रतिस्पर्धाबाट डिन छनोट गर्दा शैक्षिक योग्यता र अनुभवसँगै उम्मेदवारले सम्बन्धित संकायको विकासका लागि प्रस्तुत गरेको रणनीतिक योजना तथा त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने क्षमतालाई समेत महत्त्व दिइने विश्वविद्यालयले जनाएको छ।चारै संकायमा डिन नियुक्त भएपछि शैक्षिक, प्रशासनिक र रणनीतिक नेतृत्व थप व्यवस्थित तथा प्रभावकारी बन्ने विश्वविद्यालयको अपेक्षा छ।
