काठमाडौं ।हेटौँडाबाट काठमाडौँ आउने–जाने प्रमुख दुई सडकमा शुक्रबारदेखि सवारीसाधनको आवागमन सामान्य अवस्थामा फर्किएको छ।
त्रिभुवन राजपथअन्तर्गतको बाइरोड र कान्ति राजमार्गमा अब दुवैतर्फबाट नियमित रूपमा सवारी सञ्चालन गर्न पाइने भएको हो।मकवानपुर प्रशासनका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार धादिङस्थित कृष्णभीर क्षेत्रमा अवरुद्ध रहेको पृथ्वी राजमार्ग सञ्चालनमा आएपछि हेटौँडा–काठमाडौँतर्फको यातायात व्यवस्थापनमा गरिएको अस्थायी व्यवस्था हटाइएको हो।
यसअघि कृष्णभीरमा सडक अवरुद्ध हुँदा ठूला यात्रुवाहक तथा मालवाहक सवारीलाई व्यवस्थापन गर्न प्रशासनले वैकल्पिक रुट प्रयोग गराएको थियो। भदौ १६ गतेदेखि काठमाडौँ जाँदा त्रिभुवन राजपथ र हेटौँडा फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्ने गरी एकतर्फी आवागमनको व्यवस्था गरिएको थियो।कृष्णभीरको सडक पुनः सञ्चालनमा आएपछि उक्त प्रतिबन्ध हटाइएको प्रशासनले जनाएको छ। अब पालुङ–नौबिसे हुँदै काठमाडौँ जोडिने त्रिभुवन राजपथ तथा टीकाभैरव–ललितपुर हुँदै उपत्यका जोड्ने कान्ति राजमार्ग दुवैमा नियमित दुईतर्फी यातायात सञ्चालन हुनेछ।