काठमाडौँ । सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ मा शुक्रबार बिहान भएको दुर्घटनामा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राईको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका २६ वर्षीय सन्दीप राई घाइते भएका छन्। प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका अनिलको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घाइते सन्दीपको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।