काठमाडौँ । भोटेकोसी नदीमा आएको बाढीमा परी घाइते भएकामध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ७० जना डिस्चार्ज भएर घर फर्किएका छन्।
अस्पतालका प्रवक्ता तथा वरिष्ठ न्युरोसर्जन डा. गोपाल सेढाइँका अनुसार बाढीपछि उपचारका लागि ल्याइएका ८४ घाइतेमध्ये बिहीबार साँझसम्म ७० जना घर फर्किएका हुन्। हाल अस्पतालमा ८ जना घाइतेको उपचार भइरहेको छ। उपचाररत घाइतेमा मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, राजेन्द्र भट्ट, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ, चण्डिका श्रेष्ठ र सलिना भुजेल रहेका छन्। अस्पतालका अनुसार उपचारका लागि ल्याइएका चार जनालाई थप उपचारका लागि अन्य अस्पतालमा पठाइएको छ। त्यस्तै, एक जना घाइतेको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।