काठमाडौं ।त्रिभुवन विश्वविद्यालयले ५२औँ दीक्षान्त समारोहमा सहभागी हुने योग्य विद्यार्थीका लागि अनलाइन आवेदन खुला गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार तोकिएको अवधिभित्र आवश्यक शैक्षिक योग्यता पूरा गरेका विद्यार्थीले असोज १ गतेदेखि कात्तिक १२ गतेसम्म आवेदन दिन सक्नेछन्।२०८२ असार १ देखि २०८३ जेठ ३१ गतेसम्म स्नातक, स्नातकोत्तर वा एमफिल उत्तीर्ण गरी ट्रान्सक्रिप्ट प्राप्त गरेका विद्यार्थी आवेदनका लागि योग्य हुनेछन्। यही अवधिमा विद्यावारिधि पीएचडी पूरा गरेका विद्यार्थीले पनि दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिन पाउनेछन्।
विद्यार्थीलाई सहज बनाउन त्रिविले यसपटक देशका सातै प्रदेशमा दीक्षान्त समारोह आयोजना गर्ने व्यवस्था गरेको छ। बागमती, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केन्द्र निर्धारण गरिएको छ। अनलाइन फाराम भर्दा विद्यार्थीले आफू सहभागी हुने केन्द्रसमेत छनोट गर्नुपर्नेछ।एमफिल, पीएचडी तथा उत्कृष्ट नतिजा हासिल गरी टपर वा पदक प्राप्त गर्ने विद्यार्थीका लागि भने बागमती प्रदेशलाई केन्द्र तोकिएको छ।
दीक्षान्त समारोहमा सहभागी हुन तहअनुसार शुल्क निर्धारण गरिएको छ। स्नातक तहका विद्यार्थीले ३ हजार रुपैयाँ, स्नातकोत्तर तथा एमफिलका लागि ३ हजार ५ सय रुपैयाँ र पीएचडीका लागि ४ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।त्यस्तै, दीक्षान्त समारोहमा लगाइने गाउन र स्कार्फका लागि सबै तहका विद्यार्थीले २ हजार ५ सय रुपैयाँ धरौटी बुझाउनुपर्नेछ। उक्त रकमबाट ५ सय रुपैयाँ मर्मतसम्भार खर्च कटाएर बाँकी रकम विद्यार्थीको बैंक खातामा फिर्ता गरिने त्रिविले जनाएको छ।
विद्यार्थीले बढीमा दुई जना अभिभावकलाई समारोहमा सहभागी गराउन सक्नेछन्। प्रत्येक अभिभावकका लागि ४ सय रुपैयाँ शुल्क लाग्नेछ, जुन फिर्ता नहुने व्यवस्था गरिएको छ।त्रिविको लोगो भएको प्रमाणपत्र फोल्डर लिन चाहने विद्यार्थीले थप ५ सय रुपैयाँ बुझाउनुपर्नेछ। तोकिएका सबै शुल्क नेपाल बैंक वा ग्लोबल आईएमई बैंकमार्फत अनलाइन बैंकिङ प्रणालीबाट मात्र भुक्तानी गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।