काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनमा पार्टीका सबै तहका सदस्यलाई सहभागी गराउने गरी सङ्गठनात्मक व्यवस्था मिलाउने निर्णय गरेको छ।
सदस्यता नवीकरण गरेका तथा अधिवेशन प्रक्रियामा जोडिएका कुनै पनि सदस्य सहभागिताबाट वञ्चित नहुने पार्टीले जनाएको छ।बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि प्रवक्ता देवराज चालिसेले महाधिवेशन प्रक्रियामा सबै सदस्यको सहभागिता सुनिश्चित गर्ने निर्णय भएको जानकारी दिए।उनका अनुसार, भदौ २८ गतेको बैठकले सदस्यता नवीकरण गरेका र अधिवेशन प्रक्रियामा जोडिएका सबैलाई समेट्ने निर्णय गरिसकेको छ। सदस्यताको विषयलाई आधार बनाएर कुनै पनि सदस्यलाई अधिवेशनबाट अलग नगरिने उनको भनाइ छ।
कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई समेत आगामी महाधिवेशनमा सक्रिय रूपमा सहभागी गराउने व्यवस्था गरेको छ। वडा तहदेखि केन्द्रीय तहसम्मका अधिवेशनमा समानुपातिक र सहभागितामूलक वातावरण निर्माण गर्ने विषयमा बैठकले जोड दिएको प्रवक्ता चालिसेले बताए।
प्रवक्ता चालिसेका अनुसार बैठकमा पार्टीको आन्तरिक एकता, सङ्गठन सुदृढीकरण र राष्ट्र निर्माणमा कांग्रेसको भूमिकाबारे छलफल भएको छ। उनले १५औँ महाधिवेशनलाई उत्सवका रूपमा सम्पन्न गर्न कार्यतालिकालाई व्यवस्थित बनाउँदै लगिएको बताए।पार्टीभित्र देखिएका प्राविधिक तथा व्यवस्थापकीय समस्याको समाधान गर्दै आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने दिशामा कांग्रेस अघि बढेको उनको भनाइ छ। सबै तहका अधिवेशन निर्धारित समयमै सम्पन्न गर्न आवश्यक निर्देशनसमेत दिइसकिएको उनले जानकारी दिए।बैठकमा सहभागी नेताहरूले पार्टीको आगामी राजनीतिक यात्रा र सङ्गठनलाई थप सुदृढ बनाउने विषयमा सामूहिक प्रतिबद्धता व्यक्त गरेको प्रवक्ता चालिसेले बताए।