काठमाडौं । उपत्यकामा बिक्री हुँदै आएको खाना पकाउने एलपी ग्यासको मूल्य पुनः प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम भएको छ।
नेपाल एलपी ग्यास उद्योग सङ्घले असोज २ गते शुक्रबारदेखि लागू हुने गरी पुरानै मूल्यमा ग्यास बिक्री गर्न उद्योगीहरूलाई निर्देशन दिएको हो।यसअघि पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा आएको बाढीका कारण सडक अवरुद्ध भएपछि ग्यास उद्योगहरूले वैकल्पिक लामो मार्ग प्रयोग गर्दै उपत्यकामा ग्यास आपूर्ति गर्दै आएका थिए। वैकल्पिक बाटोबाट ढुवानी गर्दा लागत बढेको भन्दै प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा थप गरी २ हजार १६५ रुपैयाँ ३८ पैसामा ग्यास बिक्री गर्न सङ्घले निर्देशन दिएको थियो।
हाल अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू नियमित रूपमा काठमाडौँ भित्रिन थालेका छन्। ढुवानी लागतमा भएको अतिरिक्त भार हटेसँगै सङ्घले ग्यासको मूल्य पुरानै दरमा फर्काउने निर्णय गरेको हो।सङ्घका अध्यक्ष दिवान चन्दले जारी गरेको परिपत्रमा उपत्यकामा ग्यास बिक्री गर्ने सबै उद्योगीलाई निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन निर्देशन दिइएको छ। साथै, सम्बन्धित डिलरहरूलाई पनि सोही मूल्यअनुसार बिक्री वितरण गर्न जानकारी गराउन भनिएको छ।