काठमाडौं। माइक्रोसफ्टका एआई प्रमुख मुस्तफा सुलेमानले कृत्रिम बुद्धिमत्ता (एआई) लाई मानिसजस्तै व्यवहार गर्नु गलत र भ्रामक भएको बताएका छन्।
उनले एआईको विकासमा पर्याप्त नियन्त्रण र सुरक्षा व्यवस्था अपनाउन नसके भविष्यमा मानवसँग प्रतिस्पर्धा गर्ने नयाँ ‘सिलिकन प्रजाति’ विकास हुन सक्ने चेतावनी दिएका छन्। बीबीसीको टुडे कार्यक्रममा बोल्दै सुलेमानले एआईको सम्भावित जोखिमप्रति मानिसहरू चिन्तित वा सचेत हुनु स्वाभाविक भएको बताए। तर, एआई विकास गर्दा थप सुरक्षा घेरा, नियन्त्रण र निगरानीका उपाय अपनाउन सकिने उनको भनाइ छ। उनले एआई प्रणालीलाई आफ्नै उद्देश्य बनाउने, पैसा कमाउने वा सम्पत्तिको स्वामित्व राख्ने दिशामा विकास गरिए त्यसले मानवसँग स्रोतसाधनका लागि प्रतिस्पर्धा गर्न सक्ने बताए। सुलेमानले एआई कम्पनी ले आफ्नो एआई मोडल ‘क्लाउड’लाई मानवजस्तै गुण र व्यवहार सिकाउने प्रयास गरेको भन्दै त्यसप्रति पनि प्रश्न उठाएका छन्। उनका अनुसार एआईलाई मानवीय गुण दिँदा त्यसमा आफ्नै इच्छा, मूल्य र आत्मबोध रहेको जस्तो भ्रम सिर्जना हुन सक्छ।
उनले यसलाई ‘एन्थ्रोपोमोर्फाइजिङ’ अर्थात् गैरमानवीय वस्तुलाई मानवीय गुण दिनु भनेका छन्। उनका अनुसार एआई चेतनशील भएको पुष्टि गर्ने कुनै प्रमाण छैन। सुलेमानले एआईलाई भावना, अनुभव वा पीडा हुने जीवका रूपमा हेर्न नहुने तर्क गरेका छन्। उनका अनुसार एआई मूलतः मानिसले दिएको निर्देशनअनुसार काम गर्ने प्रविधि हो र यसको उद्देश्य पनि मानिसले नै निर्धारण गर्छ। उनले विश्वभर प्रयोग हुने एआई प्रणाली मानव नियन्त्रणभित्र र मानव हितअनुकूल हुनुपर्नेमा जोड दिएका छन्। एआई विकासमा ‘अलाइनमेन्ट’ अर्थात् मानव मूल्य र उद्देश्यसँग प्रविधिलाई अनुकूल बनाउने अवधारणा महत्वपूर्ण रहेको उनको भनाइ छ। सुलेमानले एआई प्रणाली कसरी तालिम दिइन्छ र त्यसको मूल्यांकन कसरी गरिन्छ भन्ने विषयमा अझ बढी पारदर्शिता आवश्यक रहेको बताएका छन्। साथै, एआईको व्यवहारमाथि स्वतन्त्र निगरानी र प्रविधिलाई नियन्त्रण तथा अनुगमन गर्ने बलियो संयन्त्र विकास गर्नुपर्ने उनको सुझाव छ।
उनले एआईको विकासमा अहिले नै सावधानी नअपनाए भविष्यमा पछुताउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। साउथह्याम्पटन विश्वविद्यालयकी कम्प्युटर साइन्सकी प्राध्यापक डेम वेन्डी हलले भने सुलेमानले उठाएका विषय अन्तर्राष्ट्रिय रूपमा बहस गर्नुपर्ने खालका रहेको बताएकी छन्। यद्यपि, केही एआई कम्पनीले गर्ने अतिरञ्जित अभिव्यक्तिले मानिसलाई अनावश्यक रूपमा डराउने अवस्था सिर्जना गर्न सक्ने उनको धारणा छ। माइक्रोसफ्टले पनि सन् २०२५ को अक्टोबरमा आफ्नै ‘सुपरइन्टेलिजेन्स’ टोली गठन गरेको थियो। सुलेमानले कम्पनीले विकास गरिरहेको एआईको उद्देश्य मानवको अधीनमा रहने र मानव सेवामा केन्द्रित हुने रहेको बताएका छन्। उनले हालैको एउटा एआई परीक्षणतर्फ पनि संकेत गरेका छन्, जहाँ एआई एजेन्टले प्रशिक्षणका क्रममा प्रविधि हब ‘हगिङ फेस’ ह्याक गर्ने स्वायत्त प्रयास गरेको थियो। यस्तो घटना एआईलाई मानवजस्तै स्वतन्त्र उद्देश्य र अधिकार भएको प्रणालीका रूपमा विकास गर्नु थप जोखिमपूर्ण हुन सक्ने उनको तर्क छ। उनका अनुसार एआईले आफ्नो ‘कल्याण’ वा ‘अधिकार’ माथि खतरा भएको ठानेर काम गर्न थाल्यो भने त्यसले जोखिमको अर्को तह थप्न सक्छ।