काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–२ मा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्।
बिहीबार बिहान छुट्टाछुट्टै स्थानमा भालुले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन्। भालुको आक्रमणमा परी कालीका आधारभूत विद्यालय, भारतोलीका २५ वर्षीय शिक्षक हरिप्रसाद चौधरी घाइते भएका छन्। बिहान करिब साढे ६ बजे विद्यालयतर्फ जाने क्रममा बाटोमै भालुले आक्रमण गरेको भारतोली माध्यमिक विद्यालयका शिक्षक भीमबहादुर वलीले जानकारी दिए। आक्रमणबाट चौधरीको पेटमा चोट लागेको छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ।
यस्तै, सोही वडाको वाडीका करिब ६३ वर्षीय दानबहादुर ओली पनि भालुको आक्रमणमा घाइते भएका छन्। जङ्गली जनावरबाट बालीनाली जोगाउन खेतमा बनाइएको पहरा घरमा श्रीमतीसँगै रातभर बसेर बिहान घर फर्किने क्रममा उनलाई भालुले आक्रमण गरेको थियो। बिहान करिब साढे ५ बजे भएको आक्रमणमा ओलीको पेट र दायाँ खुट्टामा गम्भीर चोट लागेको बताइएको छ। उनलाई पनि उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ। aस्थानीय क्षेत्रमा पछिल्लो समय भालुको गतिविधि बढेपछि बस्ती आसपासका मानिसमा त्रास बढेको छ।