काठमाडौं । आज असोज १ गते देशभर विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै छ।
कलकारखाना, उद्योग तथा विभिन्न प्राविधिक क्षेत्रमा काम गर्ने कालिगढले भगवान् विश्वकर्माको पूजाआराधना गरी यो पर्व मनाउने गरेका छन्। हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाका अवसरमा कलकारखाना तथा कार्यस्थल सजाएर औजार, मेसिन र विभिन्न उपकरणको पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार पूजाआराधना गरेमा औजार टिकाउ हुने, कामका क्रममा कम बिग्रिने र कार्यक्षमतामा सुधार आउने विश्वास छ।
विश्वकर्मा पूजाका लागि बालुवा तथा अन्य सामग्रीबाट निर्माण गरिएका मूर्ति विभिन्न शुद्ध स्थलमा लगेर विसर्जन गर्ने परम्परा पनि छ। इञ्जिन जडित यन्त्र तथा सवारीसाधनमा समेत आज विशेष पूजाआराधना गरिन्छ। धार्मिक कथनअनुसार भगवान् विश्वकर्माले भगवान् कृष्णलाई राक्षसबाट जोगाउन समुद्रको बीचमा द्वारका निर्माण गरेको विश्वास गरिन्छ। यही कारण विश्वकर्मालाई वास्तुविद्या र निर्माण कलाका विशिष्ट ज्ञाताका रूपमा सम्मान गर्ने परम्परा रहेको प्रा. तोयराज नेपाल बताउँछन्।
वास्तुशास्त्री शिव पोखरेलका अनुसार ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रसम्बन्धी ग्रन्थ विश्वकर्माले नै रचना गरेको विश्वास गरिन्छ। सोही धार्मिक तथा सांस्कृतिक मान्यताका आधारमा कालिगढले विश्वकर्मा बाबाको पूजा गरी उहाँको ज्ञान र सीपप्रति सम्मान प्रकट गर्दै आएका छन्। यसै दिन वास्तुशास्त्रका अध्येता तथा लेखकको योगदान सम्झँदै वास्तुविद्हरूले वास्तु दिवस पनि मनाउने गरेका छन्। पछिल्लो समय नेपालमा वास्तुविद्याप्रति चासो बढ्दै गएको छ। स्थापत्यवेदमा आधारित सहर तथा आवास निर्माणको अभ्यास विस्तार हुन थालेसँगै वास्तुशास्त्रको महत्त्वबारे चर्चा बढेको बताइन्छ।