काठमाडौं । सर्वोच्च अदालतको निर्माणाधीन भवनमा बुधबार फेरि आगलागी भएको छ। मुद्दा फाँटमा प्रयोग गरिएको मल्टिप्लगमा विद्युत् सर्ट भएपछि आगलागी भएको सर्वोच्च अदालतले जनाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार बन्द कोठाभित्र रहेको मल्टिप्लगमा विद्युत् सर्ट हुँदा आगो लागेको थियो। उनका अनुसार घटनाबाट ठूलो क्षति भने भएको छैन। आगलागीका कारण एउटा टेबल र तीन थान कम्प्युटर जलेका छन्। मुद्दासँग सम्बन्धित मिसिल तथा कागजातमा भने क्षति नभएको प्रवक्ता कोइरालाले जानकारी दिए। आगलागी भएको जानकारी पाएलगत्तै प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेको थियो। टोलीले आगो नियन्त्रणमा लिएको बताइएको छ। सर्वोच्च अदालतमा यसअघि पनि भदौ १७ गते आगलागी भएको थियो। त्यसबेला अभिलेख शाखामा आगो लागेको थियो। उक्त घटनाबारे छानबिन भइरहेकै अवस्थामा निर्माणाधीन भवनमा पुनः आगलागी भएको हो। यसअघि जेनजी आन्दोलनका क्रममा पनि सर्वोच्च अदालतमा आगजनी हुँदा ठूलो भौतिक क्षति भएको थियो।