काठमाडौं ।भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण तयार गर्न रसुवामा २५ सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन गरिएको छ।
जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति बनाइएको हो। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बैठकले समितिलाई एक महिनाभित्र बाढीबाट भएको प्रारम्भिक क्षतिको विवरण सङ्कलन गर्ने जिम्मेवारी दिएको छ।समितिमा सडक आयोजना, सहरी विकास तथा भवन निर्माण, भन्सार, सुरक्षा निकाय, नापी तथा भूमि प्रशासनसँगै जलविद्युत् आयोजना र नेपाल इन्टरमोडललगायत विभिन्न २५ सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि सहभागी छन्। सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ।
बाढीका कारण स्याफ्रुबेँसीस्थित गोसाइँकुण्ड गाउँपालिकाको कार्यालय भवन बगेपछि गाउँपालिकाको दैनिक प्रशासनिक काम सञ्चालन गर्न रसुवा भूसंरक्षण कार्यालयको खाली भवन प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको छ।त्यसैगरी, बेत्रावतीको खाल्टे क्षेत्रमा बाढीबाट क्षतिग्रस्त उत्तरगया गाउँपालिकाको कार्यालय पुनर्निर्माणका लागि बेत्रावतीमाथिको सामुदायिक वन क्षेत्रमा उपयुक्त स्थानमा भवन निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा अन्य विपद् व्यवस्थापनका लागि निजी हेलिकप्टर आवश्यक परेमा सम्बन्धित संस्था वा व्यक्तिको लिखित अनुरोधका आधारमा रसुवा उडानको अनुमति प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले आवश्यक सहजीकरण गर्ने भएको छ।बाढीबाट जिल्लाका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै त्यसको यकिन तथ्याङ्क तयार गरेर राहत, पुनःस्थापना र पुनर्निर्माणका काम अघि बढाउने उद्देश्यले समितिलाई जिम्मेवारी दिइएको हो।यसैबीच, रसुवा–नुवाकोट सीमामा पर्ने बेत्रावतीको फलाखुखोला, स्याफ्रुबेँसीको भोटेकोशी र रोङ्गा खोलामा बाढीले बगाएका संरचनाको स्थानमा बेलीब्रिज निर्माणलाई तीव्रता दिन रसुवा नागरिक समाजले माग गरेको छ। सडक तथा पैदलमार्गको सम्पर्क पुनःस्थापित गर्न पुलहरू यथाशीघ्र जडान गर्नुपर्ने उसको आग्रह छ।