काठमाडौं । सरकारले फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ विधेयक तयार पारेको छ।
सरकारले तयार गरेको विधेयकमा फोहोर उत्पादन हुने चरणदेखि त्यसको अन्तिम व्यवस्थापनसम्मका विषयलाई समेटिएको छ। फोहोर उत्पादन घटाउने, स्रोतमै वर्गीकरण गर्ने, संकलन तथा स्थानान्तरण केन्द्रसम्म पुर्याउने र प्रशोधन केन्द्रमा पुनःप्रयोग तथा पुनःप्रशोधन गर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। त्यसैगरी फोहोरबाट मल, ग्यास तथा ऊर्जा उत्पादन गर्ने र पुनःप्रयोग वा प्रशोधन गर्न नसकिने फोहोरलाई सुरक्षित रूपमा अन्तिम विसर्जन गर्ने विषय पनि विधेयकमा समेटिएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक तयार भइसकेको जानकारी दिएकी छन्। उनका अनुसार सडक, नदी, बस्ती तथा सार्वजनिक स्थानमा बढ्दै गएको फोहोरले वातावरण र जनस्वास्थ्यमा चुनौती थपिएकाले त्यसलाई सम्बोधन गर्ने उद्देश्यले विधेयक ल्याउन लागिएको हो। मन्त्री गौतमका अनुसार प्रस्तावित विधेयकको मुख्य विशेषता फोहोर उठाउने काममा मात्र सीमित नरही उत्पादनदेखि अन्तिम व्यवस्थापनसम्मको सम्पूर्ण प्रक्रियालाई कानुनी दायरामा ल्याउनु हो।
विधेयकमा ‘शून्य फोहोर’, ‘चक्रीय अर्थतन्त्र’ र ‘उत्पादकको विस्तारित जिम्मेवारी’ लगायतका आधुनिक अवधारणालाई समेत समेटिएको छ। मन्त्री गौतमले फोहोर उठाएर मात्र समस्या समाधान नहुने बताउँदै उत्पादनकै चरणदेखि त्यसको पुनःप्रयोग, प्रशोधन र अन्तिम व्यवस्थापनसम्म व्यवस्थित प्रणाली आवश्यक रहेको बताएकी छन्। सरकारले उक्त विधेयक संघीय संसदमा दर्ता गर्ने तयारी गरेको छ।