काठमाडौं । अस्ट्रेलियाको ‘वान नेसन’ पार्टीले देशमा अस्थायी रूपमा बसोबास गरिरहेका आप्रवासीको संख्या उल्लेख्य रूपमा घटाउने प्रस्ताव अघि सारेको छ।
सिनेटर पलिन ह्यान्सनको नेतृत्वमा रहेको पार्टीले विद्यार्थी, अध्ययनपछि बस्न पाउने, दक्ष कामदार तथा उनीहरूका परिवारका सदस्यलाई दिइने भिसामा कडाइ गर्ने प्रस्ताव गरेको हो। प्रस्तावअनुसार अस्ट्रेलियामा प्रत्येक वर्ष दिइने विद्यार्थी भिसाको संख्या १ लाख १५ हजारमा सीमित गर्ने उल्लेख छ। यसमध्ये मुख्य आवेदकका लागि १ लाख र उच्च मूल्यका अध्ययन तथा पीएचडीका लागि १५ हजार भिसा छुट्याउने प्रस्ताव गरिएको छ। विद्यार्थीका अन्य आश्रित तथा परिवारका सदस्यलाई भने भिसा नदिने प्रस्ताव छ।
त्यस्तै, अध्ययन पूरा गरेपछि पाउने ग्राजुएट भिसा वार्षिक २० हजारमा सीमित गर्ने प्रस्ताव गरिएको छ। यसमा मुख्य आवेदकलाई मात्र भिसा दिने र आश्रित तथा परिवारका सदस्यका लागि भिसा बन्द गर्ने प्रस्ताव गरिएको छ। दक्ष कामदारका लागि दिइने अस्थायी दक्ष कामदार भिसा वार्षिक ७० हजार मा सीमित गर्ने प्रस्ताव छ। यसअन्तर्गत पनि मुख्य आवेदकलाई मात्र भिसा दिने र आश्रित परिवारका सदस्यलाई भिसा नदिने उल्लेख छ।
वान नेसनको प्रस्तावमा अस्ट्रेलियामा ३१ जुलाई २०२६ सम्म १६ लाख १६ हजार अस्थायी आप्रवासी रहेको उल्लेख गरिएको छ। यो संख्या तीन वर्षभित्र ८ लाख ५० हजारमा झार्ने लक्ष्य प्रस्तावमा राखिएको छ। अर्थात् तीन वर्षको अवधिमा करिब ७ लाख ६६ हजारले अस्थायी आप्रवासीको संख्या घटाउने प्रस्ताव गरिएको हो। यसैगरी, हाल करिब ४ लाख १२ हजार ब्रिजिङ भिसा धारक रहेको उल्लेख गर्दै तीन वर्षपछि यो संख्या ३ लाखमा सीमित गर्ने लक्ष्य राखिएको छ। अनुमानित ८० हजार गैरकानुनी रूपमा बसिरहेका गैरनागरिकको संख्या शून्यमा झार्ने प्रस्ताव पनि गरिएको छ।
वान नेसनले अस्थायी आप्रवासन बढ्दा आवास, सडक तथा सार्वजनिक सेवामा दबाब परेको दाबी गरेको छ। विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीबाट शुल्क पाउने र रोजगारदाताले ठूलो श्रमशक्ति प्राप्त गर्ने भए पनि बढ्दो जनसंख्याका लागि आवश्यक आवास तथा पूर्वाधारको लागत अस्ट्रेलियाली नागरिकले बेहोर्नुपरेको पार्टीको तर्क छ। तर, यो अस्ट्रेलिया सरकारले लागू गरेको नीति भने होइन। यो वान नेसन पार्टीले अघि सारेको आप्रवासनसम्बन्धी प्रस्ताव मात्र हो। प्रस्ताव कार्यान्वयनमा आएमा अस्ट्रेलियामा अध्ययन गर्न जाने नेपालीसहितका अन्तर्राष्ट्रिय विद्यार्थी, अध्ययनपछि बस्न चाहने विद्यार्थी तथा उनीहरूका परिवारमा प्रत्यक्ष प्रभाव पर्न सक्नेछ।