काठमाडौं ।कैलालीको गौरीगंगा नगरपालिका–२ झिलमा मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको ज्यान गएको छ।
दुर्घटनामा स्थानीय लेखराज देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ।पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडिरहेका बालकलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मिनी ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पुर्याइएको थियो।
तर अस्पतालमा उपचारकै क्रममा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिंह महरले जानकारी दिए।प्रहरीका अनुसार से १ क १३५२ नम्बरको ट्रकको ठक्करबाट बालकको टाउको र छातीमा गम्भीर चोट लागेको थियो।दुर्घटनापछि प्रहरीले ट्रक चालक लम्कीचुहा नगरपालिका–२ का २९ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण र दुर्घटनाको अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।