काठमाडौं । सरकारले सार्वजनिक गरेको पूँजी बजार सुधारसम्बन्धी कार्ययोजनाको प्रभाव सेयर बजारमा देखिएको छ। मंगलबार कारोबार सुरु भएको पहिलो एक घण्टामै नेप्से परिसूचक ३५ अंकले बढेर २६२० अंकमा पुगेको छ।
कारोबार सुरु भएको एक मिनेटमै नेप्से २६७९ अंकसम्म पुगे पनि त्यसपछि केही घटेर २६२० अंकको आसपासमा कायम भएको हो। बजारमा कारोबार रकमसमेत तीव्र देखिएको छ। पहिलो एक घण्टामै ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जबकि अघिल्लो दिन चार घण्टाको कारोबारमा कुल ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो। पहिलो घण्टामा सबै समूहका सूचक सकारात्मक देखिएका छन्।
बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, माइक्रोफाइनान्स, व्यापारलगायतका समूह १ प्रतिशतभन्दा बढीले बढेका छन्। यस अवधिमा २५५ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ। जोशी हाइड्रोपावरको सेयर मूल्य करिब ६ प्रतिशतले बढेको छ भने उन्नति सहकार्य लघुवित्त र सिन्धु विकास बैंकको मूल्य करिब ४ प्रतिशतले उकालो लागेको छ। कारोबार रकमका आधारमा अपी पावर, शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, लिबर्टी इनर्जी र लक्ष्मी सनराइज बैंक अगाडि रहेका छन्।