काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज नेप्से मा सूचीकृत भएको पहिलो वर्षमै आफ्ना शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२ र ८३ को वित्तीय विवरण स्वीकृत गर्दै लाभांश वितरणको निर्णय गरेको हो। उक्त प्रस्ताव आगामी असोज २२ गते हुने साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ। सोही पुँजीको ३० प्रतिशतका आधारमा करसहित करिब ५७ करोड रुपैयाँ शेयरधनीलाई नगद लाभांशका रूपमा वितरण गरिने कम्पनीले जनाएको छ।
लाभांश वितरणसहितका प्रस्ताव अनुमोदन गर्न कम्पनीले असोज २२ गते साधारणसभा बोलाएको छ। साधारणसभा प्रयोजनका लागि असोज १४ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गरिने भएको छ।कम्पनीका अनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई शेयर खरिद गरेका तथा आफ्नो नाममा शेयर नामसारी गराएका लगानीकर्ता साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।
बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गरेको रिलायन्स स्पिनिङ मिल्स नेपालका ठूला रोजगारदाता तथा निर्यातमुखी उद्योगमध्ये एक हो। कम्पनीमा करिब ४ हजार जनाले रोजगारी पाएका छन् भने वार्षिक करिब ५० मिलियन अमेरिकी डलर बराबरका उत्पादन निर्यात हुँदै आएको छ।सुनसरीको खनार र दुहबीमा रहेका उद्योगबाट कम्पनीले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक तथा टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ। यी उत्पादन नेपालमा बिक्री हुनुका साथै भारत, टर्कीलगायत विदेशी बजारमा समेत निर्यात हुने गरेका छन्।