काठमाडौं । गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–स्थित इन्द्रेगौंडाकी २९ वर्षीया कल्पना पुनको शव १९ घण्टापछि फेला परेको छ।
आइतबार साँझ करिब ५ बजेतिर मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सीमाक्षेत्रबाट निस्ती खोलाले बगाएपछि पुन बेपत्ता भएकी थिइन्। उनी घरबाट इस्मा गाउँपालिका–४ हुलमा रहेको माइतीतर्फ जाँदै गर्दा खोलामा बगेकी थिइन्।घटना भएपछि स्थानीय बासिन्दा र प्रहरीले तत्काल खोजी थालेका थिए। खोजीका क्रममा सोमबार दिउँसो करिब १२ बजेतिर अमराईको ठुला पहरास्थित निस्ती खोलामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमकिरण बोगटीका अनुसार प्रहरी र स्थानीयको संयुक्त खोजीबाट शव भेटिएको हो।शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता महिलाको खोजीका लागि इस्मा प्रहरी चौकी र पौंदीअमराईबाट प्रहरी टोली परिचालन गरिएको थियो।