काठमाडौं । भोटेकोशीमा आएको बाढीले सवारी साधन तथा यातायात क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार यातायात क्षेत्रमा मात्रै १२ अर्ब ९० करोड २५ लाख रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति भएको हो। बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी भन्सार कार्यालयका संरचनासँगै भन्सार प्रक्रियाका लागि ल्याइएका सवारी साधन तथा सडकमा गुडिरहेका र पार्किङमा राखिएका सवारीमा समेत ठूलो क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
गल्छी–बेत्रावती–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा गुडिरहेका, पार्किङ गरिएका तथा सामान ढुवानीमा प्रयोग भएका सवारी साधन बाढी र गेग्रानको बहावमा परेका थिए। कतिपय सवारी बगेका छन् भने केही लेदो र गेग्रानमा पुरिएका छन्। प्रतिवेदनअनुसार बाढीमा बगेका, पुरिएका तथा क्षतिग्रस्त सवारी साधन र यातायातसँग सम्बन्धित सम्पत्तिको प्रत्यक्ष क्षति १२ अर्ब ९० करोड २५ लाख रुपैयाँ पुगेको हो। यो रकम करिब ८ करोड ५० लाख अमेरिकी डलर बराबर हुन्छ। सडक सञ्जाल अवरुद्ध भएपछि सवारी सञ्चालन प्रभावित हुँदा ढुवानी तथा यातायात व्यवसायमा थप ३१ करोड ४५ लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको प्रतिवेदनले जनाएको छ।
८७ यातायात व्यवसाय प्रभावित
बाढीबाट सामान ढुवानी, कन्टेनर तथा सार्वजनिक यातायात सञ्चालन गर्ने कम्तीमा ८७ वटा यातायात प्रतिष्ठान तथा व्यवसाय प्रत्यक्ष प्रभावित भएका छन्। चीनबाट आयात गरिएका विद्युतीय सामग्री, सवारी साधन, तयारी पोसाक, जुत्ता–चप्पल, औद्योगिक उपकरण तथा मेसिनरी बोकेका मालवाहक ट्रक र कन्टेनरसमेत बाढीको लेदो तथा गेग्रानमा पुरिएका वा बगेका थिए। रसुवागढी भन्सार र आसपासको सडक पूर्वाधारमा भएको क्षतिका कारण व्यापारिक आवागमनसमेत प्रभावित भएको प्रतिवेदनले देखाएको छ।