काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले गर्ने बताएकी छन्।
राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले बाढीका कारण धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले अभिभावक तथा आफन्त गुमाउनुका साथै घाइते भएर उपचार गराइरहेको बताएकी हुन्। उनका अनुसार परिवारबाट छुट्टिएका, अभिभावक गुमाएका तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको उद्धार, उपचार, मनोसामाजिक सहयोग, परिवारको खोजी र पुनर्मिलनलाई सरकारले प्राथमिकतामा राखेको छ।
विशेष संरक्षण आवश्यक बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिका–थेचोमा अस्थायी संरक्षण सेवा केन्द्रसमेत सञ्चालनमा ल्याइएको मन्त्री वादीले जानकारी दिइन्। केन्द्रबाट बालबालिकालाई आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श तथा परिवारसँग पुनर्मिलनका लागि आवश्यक सहयोग उपलब्ध गराइनेछ। बाढी प्रभावित क्षेत्र र होल्डिङ सेन्टरमा रहेका बालबालिकाको अवस्था तथा पहिचान खुलाउने कामसँगै उनीहरूको आवश्यकताअनुसार संरक्षण सेवा उपलब्ध गराउन सहजीकरण टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्री वादीले विपद्का कारण अभिभावक गुमाएका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना अघि बढाइएको बताउँदै उनीहरूलाई एक्लो वा असुरक्षित महसुस हुने अवस्था आउन नदिने प्रतिबद्धता जनाइन्। उनले बालबालिकालाई हिंसा, दुर्व्यवहार, शोषण र बेचबिखनबाट जोगाउनु सरकारको मात्रै नभई परिवार, विद्यालय, समुदाय, सञ्चारमाध्यम, नागरिक समाज र सम्बन्धित सबै पक्षको साझा जिम्मेवारी भएको बताइन्।
राष्ट्रिय बाल दिवसको सन्देशमा उनले भोटेकोशी बाढीमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। यस वर्षको राष्ट्रिय बाल दिवसको नारा ‘बालपनको रक्षा, भविष्यको सुरक्षा’ लाई व्यवहारमा उतार्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ। समस्यामा परेका वा जोखिममा रहेका बालबालिकालाई निःशुल्क बाल हेल्पलाइन १०९८ वा बालबालिका खोजतलास केन्द्र १०४ मा सम्पर्क गर्न पनि उनले आग्रह गरेकी छन्।