काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित तर हालको केन्द्रीय कार्यसमितिमा नरहेका नेताहरूलाई पुनः केन्द्रीय समितिमा आउने बाटो खोल्ने निर्णय गरेको छ।
आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुने त्यस्ता निवर्तमान केन्द्रीय सदस्यलाई अहिलेको केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुन सम्बन्धित वडामा गएर अधिवेशनमा भाग लिने १४औँ महाधिवेशनका निवर्तमान केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेटिनेछ।
कांग्रेसको संशोधित विधानअनुसार अब केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था छैन। केन्द्रीय सदस्यसमेत सम्बन्धित वडाबाट निर्वाचित भएर महाधिवेशनको प्रक्रियामा सहभागी हुनुपर्नेछ।
गत पुसमा भएको विशेष महाधिवेशनबाट बनेको कार्यसमितिमा नसमेटिएका १४औँ महाधिवेशनका १११ जना केन्द्रीय सदस्यलाई समेट्न कांग्रेसभित्र माग उठ्दै आएको थियो। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले पनि सभापति गगन थापासँग यस्तो माग गरेका थिए।
तर बैठकले १४औँ महाधिवेशनका सबै निवर्तमान केन्द्रीय सदस्यलाई स्वतः केन्द्रीय समितिमा ल्याउने निर्णय भने नगरेको कांग्रेस पदाधिकारीको भनाइ छ। वडा अधिवेशनमा सहभागी भई १५औँ महाधिवेशन प्रक्रियामा प्रवेश गर्नेहरूलाई मात्रै केन्द्रीय समितिमा समेटिनेछ।
कांग्रेसले पार्टीभित्रको एकता कायम गर्दै १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउन यस्तो निर्णय गरिएको जनाएको छ। १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ।